वसन्तपुर , तेह्रथुम। भारतको अध्ययन भ्रमणबाट फर्किएका लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबुहाङ्ले भ्रमणका क्रममा सिकेका ज्ञान, प्रविधि र विकासका अभ्यासलाई स्थानीय आवश्यकताअनुसार नगरपालिकामा लागू गर्ने बताएका छन्। भारत भ्रमणबाट फर्किएपछि नगरपालिकाका वडा अध्यक्ष तथा सदस्यहरुको उपस्थितिमा आयोजित ब्रिफिङमा उनले शहरी विकास, कृषि, पर्यटन, वातावरण संरक्षण, शिक्षा, फोहोर व्यवस्थापन तथा स्थानीय जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखेर काम गर्ने योजना सार्वजनिक गरेका हुन्।
भ्रमणका क्रममा हैदराबादमा शहरी विकासको अभ्यास, फोहोर व्यवस्थापन, ढल प्रशोधन , बायोग्यास उत्पादन तथा बागवानी (फलफूल, तरकारी तथा फूल खेतीसम्बन्धी प्रविधि) सम्बन्धी प्रणालीको अध्ययन गरिएको मेयरले बताए। शहरमा उत्पादन हुने फोहोरलाई व्यवस्थापन गर्दै त्यसबाट ऊर्जा उत्पादन गर्ने अभ्यास आफूहरूका लागि महत्वपूर्ण सिकाइ भएको उनले बताए। स्थानीय जनसंख्या र स्रोतअनुसार यस्ता प्रविधिलाई नगरपालिकामा प्रयोग गर्न सकिने उनको भनाइ छ। मेयरका अनुसार हैदराबादमा फोहोर व्यवस्थापन तथा ऊर्जा उत्पादनको क्षेत्रमा ठूलो स्तरमा काम भइरहेको छ। तर लालीगुराँस नगरपालिकाको जनसंख्या तथा स्रोतको अवस्था फरक भएकाले त्यहाँको मोडललाई हुबहु नक्कल गर्न नसकिने तर स्थानीय आवश्यकता र क्षमताअनुसार नीति तथा कार्यक्रम बनाउनुपर्ने उनले बताए।
नगरपालिकाको विकासका लागि आवश्यक दक्ष जनशक्ति आफ्नै क्षेत्रमा उत्पादन गर्ने उद्देश्यले प्रत्येक वर्ष कम्तीमा २० जना विद्यार्थीलाई कक्षा ११/१२ पछि शहरी विकाससम्बन्धी शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने योजना मेयर माबुहाङ्गले अघि सारेका छन् ।मेयरले त्यस्ता विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने तथा भविष्यमा नगरपालिकालाई आवश्यक पर्ने प्राविधिक र दक्ष जनशक्ति उत्पादन गर्ने नीति बनाउनुपर्ने बताए। यसका लागि विद्यार्थी लगानी कोष स्थापना गरी विद्यार्थीमा लगानी गर्ने नीति निर्माण गर्ने तयारी रहेको उनले जानकारी दिए। ‘हामीलाई चाहिने जनशक्ति आफ्नै गाउँघरमा उत्पादन गर्नुपर्छ’ भन्ने अवधारणा अनुसार शिक्षामा लगानी गर्नुपर्ने उनको भनाइ छ।
भारतको हैदराबाद , तामिलनाडु , पुणे तथा अन्य स्थानमा गरिएको अध्ययनबाट सिकेको अर्को विषय व्यवस्थित शहरी विकास रहेको मेयरले बताएका थिए । लालीगुराँस नगरपालिकाका सुकुम्बासी तथा अव्यवस्थित बसोबासलाई विस्थापन गर्नेभन्दा उनीहरूलाई शिक्षा, सीप र अवसर प्रदान गरी व्यवस्थित बनाउने नीति आवश्यक रहेको उनले बताए। ‘सुकुम्बासी भनेर हेप्ने वा हटाउने होइन; नगरपालिकाले व्यवस्थित बनाउने’ नीति लिनुपर्ने उनको धारणा छ। शिक्षा र सीपमार्फत उनीहरूलाई आर्थिक रूपमा सक्षम बनाउँदै नगरको विकासमा सहभागी गराउनुपर्ने उनले बताए।
भ्रमणका क्रममा कृषि तथा जैविक उत्पादनसम्बन्धी अभ्यासको समेत अध्ययन गरिएको मेयरले जानकारी दिए। स्थानीय किसानलाई जैविक उत्पादन गर्न प्रोत्साहन गर्ने, रैथाने पशुपन्छी तथा स्थानीय प्रजातिको संरक्षण गर्ने योजना पनि मेयर माबुहाङ्ले अघि सारेका थिए। मेयरले विश्व बजारमा स्थानीय तथा जैविक उत्पादनको महत्व बढिरहेको भन्दै नगरपालिकाले रैथाने पशुपन्छी, वनस्पति तथा स्थानीय कृषि प्रणाली संरक्षणमा लगानी गर्नुपर्ने बताए। आफ्नो नेतृत्वको कार्यकाल सकिएपछि आउने नेतृत्वले समेत कृषि र पर्यटनमा बजेट विनियोजन गर्न प्रोत्साहित हुने गरी दीर्घकालीन नीति बनाउनुपर्ने उनको भनाइ छ।
भारत भ्रमणका क्रममा स्थानीय संस्कृति र सम्पदाको संरक्षण गर्दै त्यसलाई जनताको हित तथा पर्यटनसँग जोड्ने अभ्यास देखेको मेयरले बताए। लालीगुराँस नगरपालिकाको प्राकृतिक तथा सांस्कृतिक सम्पदा पर्यटनको महत्वपूर्ण आधार भएको भन्दै उनले यसको संरक्षण र प्रवर्द्धनमा जोड दिए। ‘हाम्रो प्रकृति अत्यन्त उत्कृष्ट । यहाँ हिमाल र पहाड छन्। हिमाल र पहाड जोगिएनन् भने अरू धेरै कुरा जोगाउन सकिँदैन’ भन्ने धारणा उनले राखे। आगामी पुसदेखि वृक्षरोपण अभियान सञ्चालन गर्ने, स्थानीय वनस्पति संरक्षण गर्ने तथा ‘बिरुवा बैंक’ स्थापना गर्ने योजना पनि अघि सारिएको छ। भूक्षय नियन्त्रणका लागि नगरपालिकाले विशेष कार्यक्रम सञ्चालन गर्ने मेयरले बताए। भारतका विभिन्न स्थानमा स्थानीय संस्कृति संरक्षणका लागि गरिएका प्रयासबाट आफूहरूले महत्वपूर्ण कुरा सिकेको मेयरले बताए। स्थानीय संस्कृति, रैथाने पशुपन्छी तथा परम्परागत ज्ञानलाई संरक्षण गर्दै आर्थिक गतिविधिसँग जोड्नुपर्ने उनको भनाइ छ। लालीगुराँस नगरपालिकामा रहेका रैथाने पशुपन्छी तथा स्थानीय प्रजातिको संरक्षण गर्दै त्यसलाई कृषि, पर्यटन र स्थानीय उत्पादनसँग जोड्ने कार्यक्रम ल्याउन पर्ने उनले बताए।
नगरपालिकाले अघि बढाएको खानेपानी तथा मिनरल वाटरसम्बन्धी परियोजनालाई समेत प्राथमिकताका साथ अघि बढाइने मेयरले व्रिफिङ्को क्रममा बताए।
करिब १ करोड २० लाख रुपैयाँ लागत अनुमान गरिएको परियोजनामा नगरपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए। सामान्य एक्वा वाटर मात्र नभई गुणस्तरीय मिनरल वाटर उत्पादन गरी स्थानीय प्राकृतिक स्रोतलाई आर्थिक गतिविधिसँग जोड्ने उद्देश्य रहेको उनले स्पष्ट पारे।
भारत भ्रमणबाट फर्किएपछि मेयरले विकासलाई केवल भौतिक पूर्वाधार निर्माणसँग मात्र जोड्न नहुने बताएका छन्। कृषि, प्रकृति, संस्कृति, पर्यटन र मानव संसाधनलाई सँगसँगै अघि बढाउनुपर्ने उनको भनाइ छ। माटो संरक्षण, जैविक कृषि, वन तथा वनस्पति संरक्षण, रैथाने पशुपन्छी संरक्षण र प्राकृतिक सम्पदाको उपयोगलाई आगामी पुस्तासम्म निरन्तरता दिने गरी नीति निर्माण गर्नुपर्ने उनले बताए।
आफ्नो कार्यकालमा सुरु भएका कार्यक्रमलाई आगामी नेतृत्वले समेत निरन्तरता दिने गरी दीर्घकालीन नीति तथा बजेट निर्माणमा जोड दिने बताउँदै मेयरले भारत भ्रमणबाट प्राप्त अनुभवलाई नगरपालिकाको विकास योजनामा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनका अनुसार भारत भ्रमणको मुख्य उद्देश्य अवलोकन गरेर फर्किनु मात्र नभई ‘त्यहाँबाट सिकेका राम्रा अभ्यासलाई आफ्नो स्थानीय परिवेशमा कसरी लागू गर्न सकिन्छ’ भन्ने विषयमा केन्द्रित हुनु हो।
कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका नगर प्रमुख, गाउँपालिका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतसहित २१ सदस्यीय प्रतिनिधिमण्डल भारत अध्ययन भ्रमणमा गएको थियो। भारत सरकारको क्षमता अभिवृद्धि (Capacity Building) कार्यक्रमअन्तर्गत भएको भ्रमणमा सहभागीहरूले हैदराबादस्थित राष्ट्रिय ग्रामीण विकास तथा पञ्चायती राज संस्थान (NIRDPR) मा विशेष तालिमसमेत लिएका थिए। तालिम कृषि, दिगो विकास र सुशासनका विषयमा केन्द्रित रहेको थियो।
भारत र नेपालबीच ज्ञान आदान–प्रदान, संस्थागत क्षमता अभिवृद्धि तथा दुई देशबीचको दीर्घकालीन साझेदारीलाई सुदृढ गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको थियो। हालका वर्षमा नेपालका स्थानीय तहका प्रतिनिधिहरूको भारत अध्ययन भ्रमणमा सहभागी भएको यो चौथो टोली हो। यसअघि कोशी प्रदेशको सङ्खुवासभा, कर्णाली प्रदेशको हुम्ला तथा सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, बैतडी र दार्चुलाका स्थानीय तहका प्रतिनिधिले पनि यस्तै अध्ययन भ्रमण गरेका थिए। कार्यक्रम भारत सरकारको परराष्ट्र मन्त्रालय र नेपाल सरकारको परराष्ट्र मन्त्रालयको समन्वयमा सञ्चालन गरिएको जनाइएको छ।

